कर्मसही घर्ति मगर
प्रभाव भन्ने कुरा , उत्प्रेरित पार्ने कुरा बडो सम्झन लायक हुँदा रहेछन् । बालापनमा होस् या युवापनमा होस् या यो प्राैढापनमा होस् , प्रभावित हुँदाको क्षणलाई बिर्सिन नसकिँदो रहेछ । प्रभावमा पर्नको लागि कुनै ठूलै पुस्तक हुनु पर्छ भन्ने नहुँदो रहेछ । सानासाना टुक्राटाक्री उक्तिहरु पनि काफि हुँदा रहेछन् । कसैले मलाई कहिँ कतै सोधनी गर्छन् । कुन कुराले प्रेरित गरेर लेख्छाै ? कसरी यति राम्रा सृजना फुर्छन् ? आदि । मलाई लाग्छ , फुर्नलाई कुनै समय बार पर्खिनु पर्दैन । सृजना फुर्नलाई धेरै अध्ययन गर्नु पर्दैन । फुर्नु भनेको मन मस्तिष्कमा जुन कुराले प्रभाव पार्छ ; यसैबाट नै नयाँ बिम्ब , नयाँ प्लट प्रवाहित हुन्छ र त्यसलाई मूर्त रूप दिन सकेको खण्डमा नै नयाँ सृजना सिर्जित हुन्छ । यो मेरो निजत्व अनुभव हो । लेख्नु सजिलो कुरा हैन । लेख्नु अप्ठेरो कुरा पनि हैन । तर जबर्जस्ती लेख्नु अनावश्यक रूपमा पहरामा कुहिना ठोकाउनु जस्तै लाग्छ । जसले कुनै परिणामको मापन सम्प्रेषण गर्दैन । जतिखेर म कक्षा पाँच उतिर्ण गरेँ । त्यतिबेला मैकोट गाउँमा त्यो भन्दा माथिल्लो कक्षा थिएन । म रुकुमकोट भर्ना भएँ । कक्षा छ मा । कहिले पनि गाउँ नछोडेको मान्छे म । कहिँ कतै कसैले दखल नदिएको मान्छे म । घर छोड्नुको पीडा मनभरि बोकेर गएको थिएँ म रुकुमकोट । नितान्त एक्लो अनुभव भयो । कक्षा छ मा भर्ना हुँदाका मेरा मित्र थिए छायाँराज घर्ती मगर । हामी बिल्कुल नयाँ थियाैँ । हामी भन्दा माथिल्लो कक्षामा थिए हाम्रै गाउँका धनिमान पुन , तुल बहादुर गुरुङ र टेक बहादुर गुरुङ । ऊबेला मोबाइलको जमाना थिएन । मोबाइल त के , अन्य फोन सुविधा पनि थिएन । पत्रको जमाना थियो । बिल्कुल पत्राचारको समय । केही नियास्रो लाग्यो कि चिठ्ठी लेखिन्थ्यो । घरको यादमा , साथीभाइको सम्झनामा दुई हरफ कोरिन्थ्यो । आफु सकुसल आएको , सकुसल रहेको र आफ्नो बारेमा भई परि आउने दु:ख दर्दहरुको नालीबेली लगाएर निकै मिहिनेतसाथ दुईचार हरफ लेखिन्थ्यो । पत्र कोर्न हामी भन्दा ठूला र पाका भैसकेका धनिमान पुन र तुल बहादुर पुनहरुको पत्र कोर्ने लवज हेर्थ्याैँ । अरुहरुको पनि पत्र लेख्ने लवज हेर्थ्याैँ । शुरुको सम्बोधन र पत्रको बेलिबिस्तार । ऊबेलाको निकै कण्ठष्ट एउटा थेगो जस्तै थियो । यो आफ्ना जुनसुकै आफन्तलाई सम्बोधन गरे पछिको र आफ्नो बारेमा सबिस्तार लेख्नु भन्दा अगाडिको कुरा थियो । यसले निकै नै प्रभाव पारेको थियो मलाई अर्थात मेरो ऊबेलाको समयलाई । अथवा भनाैँ २०४८ तिर । मलाई प्रभावित पार्ने ती सुन्दर शब्द थुप्रै थिए । पत्रको वाहकलाई सम्बोधन गरिसके पछि 'हिमालभन्दा अग्लो , नदि भन्दा लामो , सागर भन्दा गहिरो सम्झना छ' भनेर लेखिन्थ्यो । यस्तो लवज निकै मिठासपूर्ण लाग्यो । यसले मलाई खुबै प्रभावित गर्यो । पत्र लेख्न सकिए पछि टुङ्ग्याउनीमा वाहकलाई प्रभावित पार्न एकाध मुक्तक लेखिन्थ्यो । जुन यस्तो थियो - हिलो भनेर हेला नगर हिलोमा फुल्छ कलम फूल । गरिब भनेर हेला नगर गरिबमा हुन्छ चोखो दिल ।। यो मुक्तकलाई सायरी भन्थ्याैँ । यो सायरीको रचयिता कसले गरेको थाहा छैन परन्तु यो हाम्रो बचपन र युवापनमा ओठ-ओठमा झुन्डिएको हुन्थ्यो । १३/१४ बर्षको त्यो उमेरमा यी मुक्तक खुबै राम्रो लाग्थ्यो । यस्ता थुप्रै थिए । जसका सर्जक मेरा लागि अज्ञात थिए । पत्रको समाप्ति पछि खाम भित्र बन्द गरिन्थ्यो । खामको अगाडिपट्टि आफ्नो र पाउनेको नाम लेखे पछि पछाडिपट्टि गमले चपक्क पारे पछि त्यसमा लेखिन्थ्यो- लैजा चरी हावा नै सरी यो पत्रको जवाफ तुरुन्त आउने गरि । यी यस्ता श्लोकले खुबै प्रभाव गर्यो मलाई । यस्ता मुक्तकका श्लोक कापीमा टिप्थेँ । यसकै प्रभावमा म मुक्तक लेख्न खुबै दिमाग खियाउथेँ । अलि अलि गर्दै लेख्दै गर्दा र मन परेका जति टिप्दै जाँदा कापी भरियो । आफैले लेखेको र अरुको सारेको ती मुक्तक निकै जतनसाथ कभर राखेर राख्थेँ र यसको पाठक म आफै हुन्थेँ । घरतिर पत्र पठाउँदा यसै कापीमा लेखिएका भावनाका तरङ्ग सार्दै लेख्थेँ । इच्छा थियो , यी मुक्तकले आफ्नो मान्छेलाई प्रभाव पारोस् । कक्षा ७/८ तकसेराको महेन्द्र मा. बि. मा पढ्न गइयो । त्यहाँ पनि मैले मुक्तकहरु खुबै लेख्थेँ । कक्षा ९ मा पढ्न मेरो माइला दाईको मीत हाम्रै गाउँको स्कुलका प्र.अ. शिवहरी पन्थीको घर गुल्मी जिल्ला भनभने गाबिसको भिरकटेरी गाउँबाट दुई घण्टा हिँडेर पूर्कोट दह अवस्थित हाई स्कुलमा पढ्ने भएँ । रातो माटोको बाटो चिल्लो थियो । अझ केटाकेटी खेलेर झन चिल्लै हुन्थ्यो । ती चिल्ला बाटामा यसरी लेखिएका हुन्थे- नसोध मेरो घरको खवर केबल ढुङ्गा माटो र खरको छ । नसोध के छ हाल भनेर केबल हाड र मासुले बनेको छ ।। अरुले यसरी लेखेको हेरे पछि म पनि उपयुक्त ठाउँमा मनका वहकाउ लेख्थेँ । लेख्दै जाँदा लेख्ने लत नै बस्यो । शिवहरी दाईकी भाञ्जी तीजमा आमासँगै मावल आई । उनले मैले लेखेका मुक्तक आफ्नो कापीमा सार्थिन् । तर यहि भावुकताले मेरो पढाइ बिग्रिन लाग्यो । परीक्षा नजिकै आयो । यतिबेला म पास नहुने छाँट देखेँ । यो साल परीक्षा नदिने निर्णय गरेँ । घर फर्केँ । अर्को साल फेरि बाग्लुङ जिल्लाको बुर्तिबाङ्ग पुन: कक्षा ९ मा भर्ना भएँ । यो बेला पहिलेका लेखेका मुक्तक वाहियात लाग्न थाले मलाई । सबै कता हराईयो याद भएन । यो समयमा भने म मुक्तक हैन , कविता लेख्न थालेको थिएँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'हातको मैला सुनको थैला के गर्नु धनले , साग र सिस्नु खाएको बेश आनन्दी मनले' यो श्लोकले निकै मन छोयो । म पनि अब झ्याउरेमा कविता लेख्न थालेँ । यतिबेला छन्दमा पनि कोसिस गरियो । तर सहज रूपमा लेख्न नसकिने । निकै मिहिनेत गर्नु पर्थ्यो । किताबमा दिईएको गण सूत्रको आधारमा लेखेँ । यति र गतिको नियम भने थाहा थिएन । तर संयोगबस मन्दाक्रान्ता , तोटक र भुजङ्गप्रयातमा लेखेका कतिपय कविताका पाण्डुलिपि अहिले हेर्दा ठिकै लागे । बुर्तिबाङ्गको उत्तरगंगा माबिमा कक्षा १० मा पढ्ने बेला कविता प्रतियोगिता भयो । जसमा म प्रथम भएँ । त्यसपछि सबैले कवि जी भनेर बोलाउन थाले । जेहोस् , पत्र लेख्ने बेला ती सायरी/मुक्तक नहेरेको भए , तिनले प्रभाव नपारेको भए र लेख्ने मनसाय नगरेको भए ; म कविता लेख्न लायक हुन्थेन होला । एसएलसी पछि पोखराको पिएन क्याम्पसमा भर्ना भएताका म खुबै कविता लेखेँ । कोहि पत्रपत्रिकामा छापिए । गण्डकी साहित्य संगमले आयोजना गरेका कविता गोष्ठीमा भाग लिन्थेँ । एक पटक वाचनमा भाग लिएँ । पुरस्कार पाईनँ तर समालोचक यदु गाैतम र घनस्याम दकालले कार्यक्रम सकिए पछि मलाई सामुन्ने बोलाएर 'कविता निकै राम्रो भएको' भनेर तारिफ गरे । जसले अझ उर्जा थप्यो । अहिले पनि भाव फुरेको बेला लेख्ने बानी जो छ । १० फाल्गुन , २०७४
Comments
Post a Comment