पेल्माका शिक्षक मखन केसी अझै अज्ञात वडा बाट प्रेस बिज्ञप्ती जारी


बरम बुदा मगर

रुकुम पुर्ब २०७५/०६/०३ गते 

 

रुकुम पूर्व भौगोलिक रुपमा विकट ठाउँ । साविकको रन्मामैकोट गाविस अहिले  पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १,२,३मा पर्दछ । मगर समुदाय खाम भाषीले सुसज्जित रन्मा मैकोटको आफ्नै पहिचान छ । बहुमुल्य हिमाली जडिबुटी र यार्सागुम्बुले परिचित मैकोटको पेल्मा स्थित आधारभूत तहमा अध्यापनरत थिए शिक्षक मखन केसी । भदौ १२ गतेदेखि सम्पर्कविहीन केसी भेटिएका छैनन् । साउन ३१ गते पेल्मामा केही युवाले उनलाई कुटपिट गरेको खबर पछि केसी कहाँ छन् ? कुन अवस्थामा छन्, खुल्न सकेको छैन ।

अाज  एक महिना पछि बल्ल पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर दुईले बेपत्ता शिक्षक केसीलाई खोजतलासको लागि प्रेस बिज्ञप्ती जारी गरेर सबैलाई अाग्रह गरेको छ । 

सिस्ने गाउँपालिका वडा नम्वर ६ रुकुमकोट स्थायी घर भएका ५० वर्षीय केसी २०५७ मा अस्थायी शिक्षकमा  नियुक्ती लिएर प्रावि पेल्मामा पढाए  करिब तीन वर्ष जति विद्यालयमा शिक्षक बनेका केसी पुनः २०५९ मा पेल्मा गाउँकै शिक्षक बन्न पुगे । १६ वर्ष देखि लगातार शिक्षण पेशामा रहेर पेल्माको  सेवा गरिरहेका केसी साउन ३१ गते कुटिएको कुरा बाहिर अाएको छ  । 

कुटपिटको भोलिपल्ट भदौ १ गते स्थानीय मेडिकलमा प्रथामिक उपचारका  लागि आएको  त्यसपछि भदौ १२ गतेदेखि सम्पर्क विहीन बनेको बताइएको छ । यता, केसीका सहोदर दाइ मोहन बहादुर केसीका अनुसार भाइ मखन असारमा पेल्मा गएको र परिवारसँग कुनै सम्पर्क नभएको तर कुटपिटको खबर सुनेपछि मात्र भाई बेपत्ता भएको जानकारी पाइएको बताउँछन् ।

पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर २ पेल्मामा केसीलाई स्थानीय बलराज पुनको घरमा सोही  गाउँपालिकाका वडा नम्बर  २ र १० का स्थानीय चार जना चार युवाले कुटपिट गरेको बताइएको छ ।

बेपत्ता केसी परिवारबाट सम्पर्कविहीन बनेपछि दाइ मोहनबहादुर रुकुमकोटबाट भदौ २४ गते पेल्मा पुगे । तीन दिन पैदल यात्रापछि गाउँ पुगेका केसीका दाइले स्थानीय मेडिकलमा बेपत्ता भाइको उपचार भएको जानकारी पाए । गाउँमा स्थानीय ज्ञानराज पुनले निजी मेडिकल सञ्चालनमा ल्याएको र उनै ज्ञानराजले उपचारको क्रममा केसीको फोटो खिचेको जानकारी दिए । भाइको खोजीमा गएका दाइ मोहनले नै ज्ञानराजको मोबाइलमा रहेको फोटो आफ्नो मोबाइलमा राखेर भाइ बेपत्ता भएको सार्वजनिक गरेका हुन् । मोहनका अनुसार पेल्मा विद्यालयले बेपत्ता मखन भदौ ११ गतेसम्म विद्यालयमा उपस्थित भएको जानकारी गराएको बताउँछन् । विद्यालयको हाजिरी रजिष्टरमा समेत भाइको दस्तखत गरिएको तर, त्यो दस्तखत नक्कली भएको केसीले जानकारी दिए ।

साउन ३१ गते कुटपिटमा परेर बेपत्ता भएका शिक्षक केसीका परिवार चिन्तामा छन् । उनको खोजी गरिदिन सरोकारवालालाई सहयोग गर्न केसी परिवारले आग्रह गरेको छ । लामोसमय बित्दा पनि अवस्था अज्ञात हुनुले परिवारलाई पीडा थपिएको छ । केसीलाई कुटपिट गर्ने विरुद्ध उजुरी दिइसकेको र बेपत्ता भाइको खोजीका लागि प्रशासनलाई आग्रह गरिएको दाइ मोहनबहादुरले बताए । शिक्षक मखनलाई कुटपिट गर्दा विद्यालय परिवार मूकदर्शक बनेको र वडा कार्यालयले समेत कुनै चासो नदेखाएमा परिवारको आक्रोश छ ।

शिक्षक मखन केसी बेपत्ता भएदेखि स्थानीय प्रहरी चौकी रन्मामैकोट र रुकुम पूर्वको रुकुमकोटबाट खटेर गएको प्रहरी टोलीले केसीको खोजी तीब्र पारेको जानकारी दिएको छ । परिवारको उजुरीका आधारमा केसीलाई कुटपिट गर्नेविरुद्ध समेत अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ । बेपत्ता केसी खोजीका लागि पेल्मागाउँ र त्यस आसपासका ठाउँलगायत खोलानालामा प्रहरी खटिएको र घटनाका विषयमा सत्यतथ्य छानबिन हुने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । ‘हामीले शिक्षक मखनको खोजी कार्य तिब्र पारेका छौँ, उहाँलाई कुटपिट गरेको भन्नेबारे पनि अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र