तकसेरामा गाउँपालिका केन्द्र उद्घाटन




कर्मसही घर्ती मगर
२८ पुस , रुकुम ( पूर्व )

रुकुम ( पूर्व ) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको हिजो विधिवत् उदघाटन भएको छ । गत साउन १० गते भएको गाउँसभाको दुई तिहाई बहुमतले अनुमोदन गरेको गाउँपालिका केन्द्र हिजोको दिनदेखि सुचारु हुने भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुसाल , पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रसाद घर्ती र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले संयुक्तरूपमा गाउँपालिकाको उदघाटन गरेका थिए । कार्यक्रम पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रसाद घर्तीको अध्यक्षतामा शुरु भएको थियो । कार्यक्रम सञ्चालक गाउँपालिकाका प्रशासकीय अधिकृत रबिन्द्र बुढाक्षेत्रीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुसाल थिए । जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुसालले गाउँसभाले अनुमोदन गरेको गाउँपालिकाको केन्द्र नै मान्य भएको बताए । न्यायाधीश भुसालले भने - ' देश संघीयतामा गई सकेपछि जनप्रतिनिधिले आफ्नो प्रजातान्त्रिक अभ्यासमार्फत जुन विधिसम्मत कार्य गर्‍यो , यो नै स्वागतयोग्य कदम हो । अबका दिनमा यहाँका जनताका आवश्यकतालाई मध्यनजर गरेर , यहाँको भूगोलनुसार सुहाउँदो कार्य तर्जुमा गर्नु होस् । प्राकृतिक रूपमा निकै सम्पन्नशाली यो पालिकालाई एउटा नमुनायोग्य गाउँपालिका बनाउनु हुनेछ भन्ने मैले आशा लिएको छु । "

अर्का अतिथि पूर्व राज्यमन्त्री तथा नेकाका नेता केशरमान रोकाले गाउँपालिका केन्द्र सही ठाउँमा हुनु सबैलाई गर्वको कुरा भएको बताए । नेता रोकाले भने -' जसरी यो गाउँपालिकाको लागि सबै वडाहरू एक भए त्यसरी नै अब रुकुम पूर्वको सदरमुकाम गोलखादाको लागि सबै वडाहरू एकजुट भएर लाग्नु पर्छ । सबभन्दा पहिले रुकुम पूर्व छुट्टिनुको तात्पर्य बुझ्नु अत्यावश्यक छ । खाम क्षेत्रलाई मध्यनजर गरेर नै यो जिल्ला टुक्र्याइएको हो । यसको सदरमुकाम पनि खाम क्षेत्र नै हुनु अपरिहार्य रहेछो छ । यसको विकल्प अरू हुन सक्दैन । "

यस भेगका पुराना स्थापित नेता जीतमान पुन 'मार्सल" ले गाउँपालिका केन्द्र तकसेरामा स्थापना भएकोमा बधाई दिए । उनले आगामी दिनमा रुकुम पूर्वका जनताको लडाइँ पहिचानको लडाइँ हुनेमा आफु दृढ रहेको स्पष्ट पारे । उनले भने -' विकटका दिनमा हामीलाई पश्चिम रुकुमले थिचोमिचो गरेको भान परेको थियो । बुझ्दै जाँदा हामीलाई , हाम्रो अस्तित्वलाई हाम्रै मान्छेले नामेट गर्ने गरेको रहेछ भन्ने कुरा अहिले आएर छर्लङ्ग भएको छ । त्यसैले अब हामी रुकुम पूर्वका जनता आफ्नै पहिचानको लागि लड्नु पर्छ । " नेता पुनले आफु सुगमताले रुकुमकोटलाई स्वीकारेको र पहिचानले गोलखादालाई स्वीकारेको बताए ।

नेकपाका प्रदेश कमिटी सदस्य पुनिराज घर्तीले पुथा उत्तरगंगाको केन्द्र जति छिटो लागू हुनु पर्ने हो तर ढिलो भए पनि सुचारुमा आएकोमा खुशी व्यक्त गरे । उनले थपे -' हाम्रा केही साथीहरू , हाम्रै जनप्रतिनिधिको अवरोधको कारण यो पालिकाको केन्द्र स्थापना हुनु ढिलाई भएको हो । यसले जनताको काममा हदै बाधा पारेको छ । जसले जति बाधा अवरोध खडा गरे पनि जनप्रतिनिधिहरूकै दुई तिहाई बहुमतले अनुमोदन गरेको गाउँपालिका अन्ततोगत्वा कसैले बिथोल्न सक्दैन । " यस्तै अर्का नेता निर्माण बुढाले तकसेरामा गाउँपालिकाको केन्द्र स्थापना भएकोमा आफुलाई हर्ष लागेको बताए । उनले गाउँपालिकाको केन्द्र सुनिश्चित भएपछि आगामी लडाइँ सदरमुकामको हुने पक्का रहेको बताए ।

कार्यक्रममा अर्का अतिथि जिल्ला प्रमुख अधिकारी मित्रलाल शर्माले अब यो गाउँपालिकाले न्यायिचित दंगमा विधि विधानअनुसार सम्पूर्ण वडाहरूमा कुसलतापूर्वक जनताका आवश्यकतालाई सम्बोधन गर्नेछ भन्ने आफुले आशा गरेको बताए ।

सयौं जनसमुदायलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष ओम कुमारी मल्लले पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांश वडाहरू अझै पींडामा परेको यथार्थ खुलासा गरिन् । उनले भनिन् -' गाउँपालिका केन्द्र आउन कम्तीमा चार घण्टाको बाटो हुनु पर्नेमा प्राय: वडाहरूलाई दुई दिन आउनै लाग्ने गरेको छ । वडा नं १ , २, ३, ४ , ६, ७ , ८, ९ वडाका जनतालाई पालिकासम्म आउन निकै जटिलता पार गर्नु पर्ने भएकोले आगामी पाँचवर्ष भित्र अर्को गाउँपालिका माग गर्नै पर्ने देखिएको छ । यसमा सबै कार्यपालिका , विशेषगरी तकसेराबासीले साथ दिनु पर्छ । "

यसैगरि तकसेरा सेवा समाजका अध्यक्ष बागलाल बुढाले गाउँपालिका केन्द्र तकसेरामा स्थापना गर्न अहम् भूमिका खेल्ने सबै गाउँसभाका सदस्यहरू , कार्यपालिका र अन्य राजनीतिक दलका सबैलाई अाभार व्यक्त गरे । उनले आगामी दिनमा तकसेराले अन्य वडाहरूमा विकास निर्माण प्रक्रियामा निकै लचकता अपनाउने बताए ।

करिब दुई घण्टा लामो कार्यक्रमको अध्यक्षता गरेका गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले अबका दिनमा गाउँपालिकाका कामहरू सहज रूपमा कार्यान्वयन हुनमा ढुक्क रहन जनसमुदायलाई आग्रह गरे । गाउँपालिका अध्यक्ष घर्तीले भने -' विगतका दिनमा जस्तो ढिलासुस्ती अब हुँदैन । अब गाउँपालिकाको केन्द्र सुनिश्चित भएको हुँदा सबै कामकार्य निर्धक्कसाथ हुनेछ । "

विगत दुई वर्ष देखि वडा नं १२ कोलमा अस्थाई रूपमा काम हुँदै गरेकोमा अब वडा नं १० तकसेरामार्फत गाउँपालिकाको काम हुने भएको छ ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र